साँझँ (#11106)

हे मेरा ईश्वर, मेरा स्वामी, मेरो चाहनाको लक्ष्य !  यो तिम्रो सेवक तिम्रो हेरचाह र तिम्रो संरक्षणको याचना  गर्दै तिम्रो करुणाको छाहारीमा सुत्न र तिम्रो कृपाको  आच्छादान मुनि आराम गर्न चाहन्छ । 

म याचना गर्दछु, हे मेरा प्रभु, कि तिम्रो कहिले ननिदाउने आँखाद्वारा तिमीबाहेक अरू केहीलाई पनि देख्नबाट  मेरा आँखाहरूलाई बचाइदेऊ अनि उनीहरूको दृष्टिलाई  तेजिलो बनाइदेऊ ताकि उनीहरूले तिम्रा सङ्केतहरूलाई  चिन्न र तिम्रो प्रकटीकरणको क्षितिजलाई देख्न सकून् ।   
तिमी उही हौ जसको विराटरूपको समक्ष शक्तिको सारतत्व स्वयं काँपेको छ । 

सर्व–शक्तिमान्, सर्व–विजेता, स्वतन्त्र तिमीबाहेक अन्य कोही ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

साँझँ (#11107)

हे प्रभु, मेरा ईश्वर, तिम्रो वियोगमा तिम्रो चाहना गर्नेहरूका आखाँहरू खुला छन् भने म कसरी निदाउन सक्छु र तिम्रो सामीप्यबाट टाढा रहनु परेकाले तिम्रा प्रियजनका आत्माहरू छटपटाइरहेका छन् भने म मात्रै कसरी विश्राम गर्न सक्छु ?

हे मेरा प्रभु, मैले मेरो आत्मा र मेरो सम्पूर्ण अस्तित्वलाई तिम्रो शक्ति र संरक्षणको दाहिने हातमा अर्पण गरेको छु, र मेरो शिरलाई तिम्रै शक्तिद्वारा मरो तकियामा लेटाएको छु र त्यसलाई तिम्रै इच्छा र आज्ञानुसार उठाउँछु । साँच्चै नै तिमी रक्षक, संरक्षक, सर्व–शक्तिमान् तथा सबैभन्दा बलवान् छौ । 

तिम्रो शक्तिको शपथ खाएर भन्छु कि सुतेको वा जागृत अवस्थामा होओस् तिम्रो इच्छाको विपरीत म केही माग्दिन । म तिम्रो सेवक हूँ र म तिम्रो हातमा छु । तिमी मलाई त्यो काम गर्नमा कृपापूर्वक सहायता गर जसद्वारा तिम्रो सदिच्छाको सुवास फैलियोस् । साँच्चै नै, यही मेरो आशा हो र तिम्रो निकटताको परमानन्द प्राप्त गर्नेहरूको पनि । हे सर्व–लोकहरूका स्वामी, तिम्रो जय होस् ।

-Bahá'u'lláh
-----------------------

