विवाह (#11132)

*बहाई विवाह दुवै पक्षको सुमधुर सम्बन्ध र पूर्ण सहमति हो । 

*तथापि दुवै पक्षले एक अर्काको राम्रो ध्यान राख्नुपर्छ र दुवैलाई एक अर्काको चरित्रबारे राम्रो ज्ञान हुनुपर्छ । आफूले गरेको दृढ–सम्झौतालाई दुवैले एउटा अनन्त बन्धन बनाउनुपर्छ र तिनका अभिलाषाहरू चिरकालीन, मित्रता र एकताको भावनालाई बढाउने तथा जीवन–पर्यन्त हुनुपर्छ । 


तिम्रो जय होस् , हे मेरा ईश्वर ! निःसंशय  यो तिम्रो सेवक र यी तिम्री सेविका तिम्रो अनुग्रहको  छाहारीमा जम्मा भएका छन् र तिम्रै कृपा र दानशीलताले यिनको संयोग भएको छ । हे प्रभु ! यो तिम्रो संसारमा र तिम्रो अधिराज्यमा यिनलाई सहायता गर र तिम्रो कृपा र अनुग्रहद्वारा यिनीहरूका लागि प्रत्येक भलाइ निर्दिष्ट गरिदेऊ । हे नाथ ! यिनलाई तिम्रो दासत्वमा दृढ बनाऊ र तिम्रो सेवामा सहायता गर । तिम्रो संसारमा यिनलाई तिम्रो नामको चिन्ह बन्न देऊ र तिम्रो अक्षय वरदानद्वारा यो संसार र आउँदो संसारमा यिनलाई रक्षा गर । हे प्रभु ! यिनीहरू तिम्रो दानशीलताको अधिराज्यतर्फ विनम्रता साथ याचना गरिरहेका छन् र तिम्रै अद्वितीय साम्राज्य स्तुति गरिरहको छन् । निःसशंय, तिम्रै आज्ञा पालन गर्दै यी विवाहित भएका छन् । समयको अन्त्यसम्म मेलमिलाप र एकताको चिन्ह बन्न यिनलाई सहयोग गर । 

निश्चय नै तिमी सर्व–सामथ्र्य, सर्व–व्यापी र सर्व–शक्तिमान् छौ ।

-Bahá'u'lláh
-----------------------

विवाह (#11133)

*किताब–इ–अग्दस (महान् पवित्र ग्रन्थ) मा निर्धारित गरिए अनुसार बहाई साक्षीहरूको उपस्थितिमा व्यक्तिगत रूपमा वर र वधूले पालैसित गर्ने विवाहको प्रतिज्ञा हो : “निश्चय नै, हामी सबै प्रभुको इच्छालाई शिरोधार्य गर्नेछौं ।”
 
उनी दयावान् छन्, सर्व–कृपालु छन् ! अनन्त, अपरिवर्तनीय, सर्व–व्यापी, प्राचीन प्रभुको जय होस् ! उनी त्यही हुन्, जसले आफ्नै अस्तित्वद्वारा आफूलाई एकमात्र, अद्वितीय, अनुपम, सर्वोच्च प्रभु प्रमाणित गरेका छन् । 

उनका अनन्यतालाई स्वीकार गर्दै तथा उनको अद्वितीयतालाई मान्दै हामी यो साक्षी दिन्छौं कि निश्चय नै उनीबाहके अन्य कुनै ईश्वर छैन । आफ्नो उचाइका अग्ला शिखरहरूमा, आपूmबाहेक अन्य सबैको व्याख्यानबाट पर र आफूबाहेक अन्य सबैको चर्चाबाट स्वतन्त्र र कोही पनि पुग्न नसक्ने अगमस्थानमा उनी सदासर्वदा बास गर्दछन् । 

जब उनले मनुष्यमाथि आफ्नो दया र कृपाको वृष्टि गराउने तथा विश्वलाई व्यवस्थित गराउने इच्छा गरे तब उनले नियमहरू बनाए अनि कानूनहरू दिए जसमध्ये विवाहको कानूनको पनि स्थापना गराए र यसलाई मनुष्यको मोक्ष र कल्याणको साधन बनाए र आफ्नो अत्यन्त पविन्न ग्रन्थको पानामा उल्लेख गरी सबैको पालनाको लागि निर्दिष्ट गरे । उनको महिमा अपरम्पार छ । उनी आज्ञा गर्दछन् : “हे मानव हो ! विवाह गर ताकि मेरा सेवकहरूको बीचमा मेरो स्मरण गर्ने व्यक्ति तिमीबाट उत्पन्न होओस् । तिमीलाई दिइएका आज्ञाहरू मध्येको यो एक आज्ञा हो : आफ्नै हितको लागि यसको पालन गर ।”

-Bahá'u'lláh
-----------------------

विवाह (#11134)

उनी परमेश्वर हुन् ! हे अनुपम स्वामी ! आफ्नो सर्वोच्च बुद्धिद्वारा तिमीले मनुष्यको लागि विवाह–सूत्रको विधान रच्यौ ताकि यस अनिश्चित लोकमा एकको पछि अर्को गर्दै मानव पिँढी निरन्तर चलिरहोस् र यो संसारमा अन्तसम्म पनि सेवा, भक्ति, श्रद्धा, प्रेम र प्रशंसाको भावले तिनीहरू तिम्रो एकताको संघारमा व्यस्त रहिरहून् । “मेरो मात्र उपासना गरोस् भन्ने हेतुले मैले आत्मा र देह दिएर मनुष्यको सृष्टि गरेको हूँ ।” तसर्थ, तिम्रो प्रेमको गुँडका यी दुई चरालाई आफ्नो दयाको स्वर्गमा विवाहित गराऊ र यिनीहरूलाई तिम्रो अविरल कृपा आकर्षित गर्ने माध्यम बनाऊ ताकि प्रेमका यी दुई सागरको मिलनबाट जीवनका किनारमा असल र पवित्र मोतीहरू पैदा गर्ने कोमलताका लहरहरू उर्लियून् । “परस्परमा मिलोस् भनेर उनले दुईवटा सागरलाई स्वतन्त्र गरिदिएका छन् । तिनका बीचमा एउटा पर्खाल छ जसलाई तिनीहरूले कदाचित् ननाघून् । 

आफ्ना प्रभुको कुन चाहिँ कृपालाई तिमी तब अस्वीकार गर्छौ ? हरेकबाट उनले ठूला र साना मोतीहरू पैदा गराउँछन् ।”
हे  तिमी दयालु स्वामी ! यो विवाहलाई मुँगा तथा मोतीहरू पैदा गर्ने योग्य बनाऊ । तिमी साँच्चै नै सर्व– शक्तिमान्, अत्यन्त महान्, सदा क्षमाशील हौ ।

-`Abdu'l-Bahá
-----------------------

विवाह (#11135)

हे मेरा स्वामी ! हे मेरा प्रभु ! तिम्रो प्रेममा यी दुई चम्किला जूनहरूको विवाह भएको छ, तिम्रो पवित्र संघारको सेवा गर्न र तिम्रो धर्मका गतिविधिहरूको हेरचाह गर्न एक भएका छन् । हे मेरा प्रभु, हे सर्व–कृपालु ! यो विवाहलाई तिम्रो अपार कृपाको ज्योतिपुञ्ज बनाइदेऊ हे कल्याणकारी, हे सदा दानी ! यसलाई तिम्रा दानहरूका प्रदीप्त किरणहरू बनाइदेऊ ताकि यो महावृक्षमा त्यस्ता हाँगाबिँगाहरू लागून् जुन तिम्रो कृपाको मेघबाट वृष्टि भएका जलद्वारा हरियो र समुन्नत भई फैलियून् । 

निःसन्देह, तिमी दयावान् छौ । निःसन्देह, तिमी शक्तिशाली छौ । निःसन्देह तिमी करुणामय छौ, सर्व–कृपालु छौ ।

-`Abdu'l-Bahá
-----------------------

