क्षमा (#11111)

गौरवशाली छौ तिमी, हे प्रभु, मेरा ईश्वर ! तिम्रा प्रतिनिधिहरूको नाम लिएर, तिम्रा संदेशवाहकहरूको नाम लिएर, उनको नाम लिएर जसलाई तिमीले अवतारहरूको मुहारको उपाधि दिएका छौ र तिम्रा दूतहरूको नाम लिएर म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो यादलाई मेरो सहयात्री, तिम्रो प्रेमलाई  मेरो जीवनको उद्देश्य, तिम्रो दर्शनलाई मेरो लक्ष्य, तिम्रो नामलाई मेरो दीपक, तिम्रो इच्छालाई मेरो पनि इच्छा र तिम्रो आनन्दलाई मेरो पनि आनन्द बनाइदेऊ । 

हे मेरा ईश्वर ! म एउटा पापी हूँ र तिमी हौ सदा क्षमादानी । तिमीलाई स्वीकारेको बेला देखि नै तिम्रो प्रेमाद्र दयाको भव्य दरबारमा प्रवेश पाउनको लागि म हतारिएको छु । हे मेरा प्रभु ! मेरा पापहरूलाई क्षमा गरिदेऊ जसले मलाई तिम्रो सदिच्छाको मार्गमा हिंड्न र तिम्रो एकताको समुद्रसम्म पुग्नमा बाधा ठड्याइरहेका छन् । 

हे मेरा प्रभु ! मैले चाहेका सारा कुराहरू दिन सक्ने र मैले निर्धक्कसाथ भरोसा गर्न सक्ने तिमीबाहके अर्को कोही छैन तथा मलाई करुणाको दृष्टिले हेर्ने र जोसित म दयाको भीख माग्न सक्छु त्यस्तो ईश्वर तिमीबाहके अर्को छैन । म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो अनुकम्पाको ढोकाबाट मलाई धपाउने नगर र तिम्रो प्रचुर र उदार कृपाको प्रवाहलाई मसम्म पुग्नबाट नरोक । हे मेरा प्रभु ! तिम्रा भक्तहरूको लागि तिमीले जे आज्ञा गरेका छौ मेरो लागि पनि त्यही आज्ञा गर र तिम्रा प्रतिनिधिहरूको लागि जे लेखेका छौ मेरो लागि पनि त्यही लेखिदेऊ । मेरो दृष्टि सधैं भरि तिम्रो दिव्य–विधानको क्षितिजमा केन्द्रित रहेको हुन्छ र मरो आँखाहरू तिम्रै कोमल दयाको दरबारलाई हेरिरहेका हुन्छन् । तिम्रो भव्यतालाई जे गर्दा सुहाउँछ मसित त्यस्तै व्यवहार गर । तिमी शक्तिका ईश्वर हौ, तिमी गौरवका ईश्वर हौ, सबै तिम्रो सहायताको कामना गदर्छन्, तिमीबाहके अर्को कुनै ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

क्षमा (#11112)

हे  मेरो ईश्वर, म त्यही व्यक्ति हूँ जसले आफ्नो अनुहार तिमीतिर फर्काएको छ र जसले तिम्रो अनुकम्पायुक्त प्रकटीकरणहरू र तिम्रा दयाका आश्चर्यजनक उपहारहरूमा आफ्नो आशा केन्द्रित गरेको छ । म तिमीसित याचना गर्दछु कि मलाई आफ्नो दयाको द्वारबाट निराश गराएर नफर्काऊ र मलाई तिम्रा ति प्राणीहरूलाई जस्तै नत्याग जसले तिम्रो धर्मको विरोध गरेका छन् । 

हे मेरा प्रभु ! म तिम्रो सेवक हँु र तिम्रो सेवकको पुत्र हूँ । तिम्रा दिनहरूमा नै मैले तिमीलाई स्वीकार गर्न पाएँ, तिम्रो अद्वैततालाई मान्यता दिँदै, तिम्रो एकतालाई स्वीकार्दै  र तिम्रो क्षमा र दयाको आशा गर्दै मैले मेरा पाइलाहरूलाई तिम्रो एकताको समुद्रतिर अघि बढाएको छु । जे चाहन्छौ त्यही गर्ने तिमीमा शक्ति छ । सर्व– गौरवशाली, सदा–क्षमाशील, तिमीबाहके अर्को ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

क्षमा (#11113)

हे मेरा प्रभु ! तिमी देखिरहेका छौ कि मैले मेरो अनुहार तिम्रै दयाको स्वर्गतिर र तिम्रै अनुकम्पाहरू भरिएको समुद्रतिर फर्काएको छु र आफुलाई तिमीबाहेक अन्य सबै कुराहरूबाट अलग गराएको छु । साईनाईमा प्रकट भएको अवतारको झलमल्ल प्रकाशद्वारा तथा सदा–क्षमाशील तिम्रो नामको क्षितिजमा उदाउने तिम्रो दयाको सूर्यको चमकद्वारा म तिमीसित याचना गर्दछु कि मलाई तिम्रो क्षमा प्रदान गर र ममाथि कृपादृष्टि राख । अतः तिम्रो गौरवशाली कलमले त्यो कुरा लेखिदेऊ जसले गर्दा सृष्टिको लोकमा तिम्रो नामको साथै मेरो पनि नाम चलोस् । हे मेरा प्रभु ! मलाई सहायता देउ  ताकि म तिमीतिर अग्रसर हुन सकुँ, तिम्रा भक्तहरूको बोली सुत्र सकूँ, जसलाई लौकिक शक्तिहरूले कमजोर गराउन सकेका छैनन् र राष्ट्रका शासनले पनि जसलाई तिमीतिर अग्रसर हुनबाट रोक्न सकेका छैनन् र जो यसो भन्दै तिमीतिर अघि बढिरहेका छन् : “ईश्वर हाम्रा मालिक हुन् र पृथ्वी तथा स्वर्गका सारा बासिन्दाहरूका पनि मालिक हुन् ।”

-Bahá'u'lláh
-----------------------

क्षमा (#11114)

तिम्रो जय जय होस्, हे मेरा ईश्वर तथा अन्य सारा वस्तुहरूका ईश्वर ! मेरा गौरव तथा अन्य सारा वस्तुहरूका गौरव, मेरा चाहना तथा अन्य सारा वस्तुहरूका चाहना, मेरा शक्ति तथा अन्य सारा वस्तुहरूका शक्ति, मेरा सम्राट् तथा अन्य सारा वस्तुहरूका सम्राट्, मेरा मालिक तथा अन्य सारा वस्तुहरूका मालिक, मेरा लक्ष्य तथा अन्य सारा वस्तुहरूका लक्ष्य, मेरा संचालक तथा अन्य सारा वस्तुहरूका संचालक ! म याचना गर्दछु कि मलाई तिम्रो दर्याद्र करुणाको महासागरबाट वञ्चित नगराऊ, न त तिम्रो सामीप्यको किनारबाट नै टाढा राख । 

हे मेरा प्रभु ! तिमीबाहेक अन्य केही पनि मेरा लागि हितकर छैन र तिम्रो अतिरिक्त अन्य सबैको सामीप्य मेरो लागि व्यर्थ छ । आफू बाहके अन्य सबैको भरण–पोषण गर्ने तिम्रो द्रव्यको प्राचुर्यताको शक्तिद्वारा म तिमीसित याचना गर्दछु कि मेरो गणना तिनीहरू मध्ये गराऊ जो तिमीतिर उन्मुख भएका छन् तथा तिम्रो सेवा गर्न अग्रसर भएका छन् । 

हे मेरा प्रभु ! आफ्ना सेवकहरू तथा सेविकाहरूलाई क्षमा गर । निश्चय नै तिमी सदा क्षमादानी, सर्व–करुणामय हौ ।

-Bahá'u'lláh
-----------------------

क्षमा (#11115)

हे क्षमाशील प्रभु ! तिमी नै तिम्रा यी सारा सेवकहरूका आश्रय हौ । तिमी नै सारा रहस्यहरूका ज्ञाता हौ र तिमीलाई सबै कुरा थाहा छ । हामी सबै कमजोर छौं र तिमी शक्तिवान् र सबभन्दा बलवान् छौ । हामी सबै पापी हौं र तिमी पापीहरूको पाप मोचन गर्ने दयालु, करुणामय हौ । हे प्रभु ! हाम्रा कमजोरीहरू माथि ध्यान नदेऊ, बरू आफ्नो कृपा तथा दया अनुरूप हामीसित व्यवहार गर । 

हाम्रा दोषहरू अनगिन्ती छन् तर तिम्रो क्षमाशीलताको समुद्र अथाह र असीमित छ । हाम्रो अवस्था अत्यन्त दयनीय छ तर तिम्रो सहायता र सहयोगका प्रमाणहरू स्पष्ट छन् । 

तसर्थ हामीलाई सुदृढ गराऊ, सबल बनाऊ र तिम्रो पवित्र संघारमा उपस्थित हुन योग्य बनाऊ । हाम्रो हृदयलाई प्रज्ज्वलित गराइदेऊ र हामीलाई सूक्ष्मदृष्टि र श्रवणशक्ति प्रदान गर । मरेकाहरूलाई पुनर्जीवन प्रदान गर र बिरामीहरूलाई रोगमुक्त गरिदेऊ । निर्धनलाई धन–दौलतद्वारा सम्पन्न गराइदेऊ र आतंकित भएकाहरूलाई शान्ति र सुरक्षा प्रदान गर । हामीलाई तिम्रो अधिराज्यमा प्रवेश गराऊ र मार्गदर्शनको ज्योतिद्वारा हामीलाई प्रकाशित गराइदेऊ । 

तिमी शक्तिशाली र सबभन्दा बलवान् छौ । तिमी कृपालु छौ, तिमी क्षमादानी छौ, तिमी दयावान् छौ ।

-`Abdu'l-Bahá
-----------------------

