एकता (#11188)

हे मेरा ईश्वर ! हे मेरा ईश्वर ! तिम्रा सेवकहरूको हृदयलाई एक गरिदेऊ र उनीहरूलाई तिम्रो महान् उद्देश्य प्रकट गरिदेऊ, उनीहरूले तिम्रो आज्ञापालन गर्न र तिम्रो नियममा बस्न सकून् । हे ईश्वर ! उनीहरूको प्रयत्नमा सहायता गर र उनीहरूलाई तिम्रो सेवा गर्ने शक्ति प्रदान गर । हे ईश्वर ! उनीहरूकै जिम्मामा उनीहरूलाई नछोड बरू तिम्रो ज्ञानको प्रकाशद्वारा उनीहरूलाई आनन्दित पार । 

निःसंशय, तिमी नै हौ उनीहरूका सहायक तथा उनीहरूका प्रभु !

-Bahá'u'lláh
-----------------------

एकता (#11189)

ईश्वरले आज्ञा देऊन् कि एकताको ज्योतिले सम्पूर्ण विश्वलाई ढाकोस् र “यो अधिराज्य ईश्वरकै हो” भन्ने मोहरको छाप यसका समस्त जनताको निधारमा लागोस् ।

-Bahá'u'lláh
-----------------------

एकता (#11190)

हे मेरा ईश्वर ! हे मेरा परमेश्वर ! तिम्रो पवित्र संघारमा नतमस्तक भई म तिमीसित प्रार्थना गर्दछु कि यी आत्माहरूमाथि तिम्रो कृपाको वृष्टि गरिदेऊ । तिनलाई तिम्रा कुपा प्राप्त गर्ने र तिम्रो सत्यको अन्वेषण गर्ने योग्यता प्रदान गर । 

हे मालिक ! तिम्रो अद्वितीयता र पवित्रताद्वारा उनीहरूको हृदयलाई एकताको सूत्रमा बाँधिदेऊ, उनीहरूको आत्माबीच सामञ्जस्यता स्थापना गरिदेऊ । हे नाथ ! यिनको अनुहारलाई तिम्रो एकताको प्रकाशले प्रकाशित गराइदेऊ । तिम्रो अधिराज्यको सेवामा तिम्रा सेवकहरूको कम्मरलाई सशक्त गराइदेऊ । 

हे नाथ ! तिमी अनन्त दयाका स्वामी हौ !  हे उदार तथा क्षमाशील प्रभु ! हाम्रा पापहरूलाई क्षमा  गरिदेऊ, हाम्रा दोषहरूमाथि ध्यान नदेऊ र हामीलाई तिम्रो साम्राज्यतर्पm उन्मुख गराऊ । हामीलाई तिम्रो गौरवका प्रमाणहरूप्रति समर्पित गराऊ र तिम्रो समाधिको अघि विनम्र भई तिम्रो साम्राज्यबाट शक्ति र बलको याचना गर्ने बनाऊ । 

हे नाथ ! हे  प्रभु ! आफ्नो प्रेमको अनुकम्पाबाट हामीलाई समुद्रका लहरहरू र बगैँचामा फूलहरूसरह एक गरिदेऊ । हे मालिक ! तिम्रा एकताका चिन्हहरूद्वारा हाम्रो हृदयलाई सुशोभित गरिदेऊ र समस्त मानव–जातिलाई गौरवको एउटै उचाइमा चम्किरहने ताराहरू र तिम्रो जीवन– वृक्षमा लागेका फलहरूजस्तै पूर्ण बनाइदेऊ । 

निश्चय नै, तिमी सर्व–शक्तिमान्, आत्म–परिपूर्ण, दाता, क्षमाशील, उदार, सर्व–ज्ञाता, अनि सर्व–स्रष्टा हौ ।

-`Abdu'l-Bahá
-----------------------

