उपवास (#11191)

तिम्रै जय होस्, हे ईश्वर, मेरा स्वामी ! अन्धकारलाई प्रकाशमा परिणत गर्ने, बारम्बार धाइने देवस्थल निमार्ण गर्ने तथा लिखित पाटिका प्रकाशित गर्ने एवं फिजाइएको पत्रको अनावरण गर्ने यो प्रकटीकरणद्वारा मलाई तथा मेरो साथमा रहेकाहरूको लागि तिम्रो उत्कर्ष गौरवको आकाशमा उड्न र तिम्रो एकताको मन्दिरमा प्रवेश गर्न, शंकालु व्यक्तिहरूलाई बाधा गर्ने शकांहरूको दागलाई पखाल्न समर्थ बनाइदेऊ भनी याचना गर्दछु । 

म उही हूँ, हे मेरा नाथ, जसले तिम्रो प्रेमाद्र दयाको डोरी बलियोसँग समातेको छ, र तिम्रो करुणा एवं कृपाको संजापमा टाँसिएको छ । मलाई तथा मेरा प्रियजनहरूको लागि यो संसार र आउने संसारको भलाइ निर्दिष्ट गरिदेऊ । 

तब, तिमीले आफ्ना प्राणीहरूमध्ये छानिएकाहरूको लागि तोकेको गूढ उपहार उनीहरूलाई पनि प्रदान गर । यी तिनै दिनहरू हुन्, हे मेरा प्रभु ! जसमा तिमीले आफ्ना सेवकहरूका लागि उपवास बस्ने आज्ञा दिएका छौ । 

ऊ धन्य छ जसले पूर्णतया तिम्रै लागि र तिमीबाहके अन्य सबै वस्तुबाट पूर्ण अनाशक्त रहेर उपवास बस्छ । 

हे मेरा स्वामी ! तिम्रो आज्ञा पालन गर्न र तिम्रा शिक्षाहरू मात्र मलाई र उनीहरूलाई सहायता गर । 

निःसशंय, तिमी जे चाहन्छौ त्यही गर्ने तिमीमा सामर्थ्य छ । 

सर्व–ज्ञानी, सर्व–बुद्धिमान् परमात्मा तिमीबाहेक अरू कोही छैन । सबै संसारहरूका स्वामी, ईश्वरको जय होस् ।

-Bahá'u'lláh
-----------------------

उपवास (#11192)

हे मेरा प्रभु ! यी तिनै दिनहरू हुन् जुन दिनहरूमा आफ्ना सेवकहरूलाई तिमीले उपवास बस्ने आदेश गर्यौ। 

यसद्वारा आफ्ना प्राणीहरूको लागि प्रकट गरेका तिम्रा कानूनहरूको पुस्तकको भूमिकालाई तिमीले अलङ्कृत गरायौ र पृथ्वी र स्वर्गमा बस्ने सबैको लागि आफ्ना आदेशहरूको कोष खोलिदियौ । यी दिनहरूका हरेक पललाई तिमीले विशिष्ट गुणहरूद्वारा शोभायमान गरायौ जुन तिमीबाहेक अन्य सबैको बोधशक्ति भन्दा टाढा छ । र, जसको ज्ञानले सारा सिर्जित वस्तुहरूलाई व्याप्त गरेको छ । तिमीले प्रत्येक आत्मालाई पनि तिम्रो आज्ञापत्र र अकाट्य निर्णयको ग्रन्थमा उल्लेख गरे अनुसार यस गुणको एक अंश प्रदान गर्यौ। यी पुस्तक तथा ग्रन्थहरूको प्रत्येक पानालाई तिमीले पृथ्वीका मानिस र तिनका सन्ततिको लागि निर्धारित गर्यौ। 

हे तिमी जो शासकहरूका पनि शासक हौ ! तिम्रा आज्ञानुसार तिम्रा उत्कट प्रेमीहरूको लागि तिमीले प्रत्येक बिहान तिम्रो स्मरणको प्याला निर्दिष्ट गर्यौ। यी तिनै प्रेमीहरू हुन् जो तिम्रो अगाध ज्ञानरूपी मदिराले  यसरी मस्त छन् कि तिम्रो स्तुति गर्ने र तिम्रो गुणगान गर्ने इच्छाले आफ्नो श्यया त्याग गर्दछन् र तिम्रो दर्शन पाउने र तिम्रो कृपा प्राप्त गर्ने इच्छाले निद्रा त्याग गर्दछन् । तिनका आँखा सधैँ  तिम्रो प्रेमाद्र–दयाको दिवा–स्रोत तिर लालायित हुन्छन् र तिनका मुख तिम्रो प्रेरणाको निर्झर स्रोत तिर उन्मखु छन् । त्यसकारण हामी तथा तिनीहरूमाथि आफ्नो कृपाको मेघबाट तिनै कुराको वृष्टि गराऊ जुन तिम्रो अनुकम्पा र प्राच्युर्यतासित सुहाउने होस् । 

हे मेरा प्रभु ! तिम्रो नामको जयजयकार होस् ! त्यो त्यही घडी हो जब तिमीले आफ्ना प्राणीहरूको समक्ष आफ्नो कृपाको ढोका उदाङ्ग पारिदिएका छौ अनि पृथ्वीका बासिन्दाहरूको लागि आफ्नो कोमल दयाको दर्बाजा खोलिदिएका छौ । तिमीलाई भेट्ने उत्कट अभिलाषाले समस्त प्राणीहरूबाट अलग्ग भई तिम्रो मार्गमा वीरगति प्राप्त गर्नेहरू, जो तिम्रो प्रेरणाको सुमधुर सुवासले यसरी प्रभावित भए कि तिनका शरीरका प्रत्येक अङ्ग तिम्रै स्तुतिमा विभोर थिए र तिम्रो स्मृतिद्वारा स्पन्दित थिए, तिनीहरू साराको नाम लिएर म तिमीसित याचना गर्दछु कि तिमी मलाई ती कुराहरूबाट वञ्चित नगराऊ जसलाई तिमीले यस प्रकटीकरणमा अकाट्य रूपमा निर्दिष्ट गरेका छौ । 

यो त्यही प्रकटीकरण हो जसको शक्तिले प्रत्येक वृक्षलाई त्यो घोषणा गर्न लगाइरहेको छ जुन घोषणा अतीतमा प्रज्ज्वलित झाडीले मोशेजलाई गरेको थियो जसले तिमीसित संवाद गरेका थिए यस्तो प्रकटीकरण जसको शक्तिले धर्तीका कणकण फेरि उसरी नै तिम्रो महिमा गाउनमा तल्लीन छन् जसरी तिम्रा मित्र हजरत मुहम्मदको कालमा ढुङ्गाहरूले गरेका थिए । 

हे मेरा प्रभु ! यी तिनै मानिसहरू हुन् जसलाई कुपापूर्वक तिमीले आफ्नो सान्निध्य प्राप्त गर्ने योग्य बनायौ अनि स्वयं तिमीलाई प्रकट गर्ने अवतारका भक्त हुने योग्य गरायौ । जबसम्म तिमी तिनलाई तिम्रै छत्रछायाँमा एकत्र गराउने र तिम्रो दरबारको प्राङ्गणमा प्रवेश गराउने चाहना गर्दैनौ त्यसबेलासम्म तिमी तिनलाई तिम्रो इच्छारूपी समीरद्वारा टाढा–टाढा पठाउँदछौ । तिनीहरूलाई अहिले तिमीले आफ्नो दयाको आश्रयमुनि संरक्षण दिएका छौ तसर्थ त्यस्तो विशिष्ट पदलाई सम्हाल्ने योग्यता उनीहरूलाई प्रदान गर । हे मेरा प्रभु ! जसले तिम्रो निकटता प्राप्त गरेर पनि तिमीलाई चिन्न सकेनन् र जसले तिमीलाई भेट्टाएर पनि तिम्रो दर्शन गर्न सकेनन् तिनका समूहमा यिनीहरूलाई नपार । 

हे मेरा मालिक, यी तिम्रा सेवकहरू हुन् जो तिमीसित यस अत्यन्त विराट जेलभित्र प्रविष्ट भएका छन् र तिमीले तिम्रा पुस्तक तथा परिपत्रहरूमा तिनका लागि जे आज्ञा गरेका छौ तिनको अनुरूप यस जेलका चार किल्लाभित्र पनि उपवास राखिरहेका छन् । तसर्थ तिनीहरूमाथि आफ्नो दयाको वृष्टि गर जसले गर्दा तिमीलाई अप्रिय लाग्ने ती सबै कुराहरूबाट आफुलाई अलग्ग गराउन मन, बचन र कर्मले तिम्रा उपासक हुन् र तिमीबाहेक अन्य सबै कुराहरूबाट आफुलाई मुक्त गराउन समर्थ होऊन् । 

अतः हे मेरा प्रभु ! तिनलाई यस्ता कुराहरूको मात्र वरदान देऊ जुन तिम्रा कृपा र अनुग्रह सुहाउँदा छन् । हे मेरा प्रभु ! हामीलाई तिम्रै स्मरणमा बाँच्ने र तिम्रै प्रेमको खातिर मर्न सक्ने तुल्याऊ र तिमीबाहेक अन्य सबैको निमित्त अगम ती परलोकहरूमा पनि तिम्रो सात्रिध्य प्राप्त गर्न सक्ने वरदान देऊ । तिमी हाम्रा अधिपति हौ अनि सारा लोकका अधिपति हौ तथा स्वर्ग र पृथ्वीका सारा निवासीहरूका इष्टदेव हौ । 

हे मेरा प्रभु ! तिम्रा दिनहरूमा तिम्रा प्रियजनले कस्तो दुःख–सास्ती पाउनुपर्यो त्यसलाई तिमी राम्ररी जान्दछौ । तिम्रो गौरव मेरो साक्षी छ । तिम्रा विश्वासिला भक्तहरूको करुण विलापको आवाज सुनेर सारा लोकहरू स्तब्ध भएका छन् । तिम्रो भूमिका अविश्वासीहरूको जालमा केही फसाइएका छन् र तिम्रो नजिक आउनबाट वञ्चित गराइएका छन् तथा कष्टको पर्खाललाई आफुहरू र तिमीबीच आउन दिएकाले तिमीसित साक्षात्कार गर्न सकेनन् । 

हे मेरा प्रभु ! यो त्यही घडी हो जुनलाई तिमीले अरू घडीहरूभन्दा विशिष्ट बनायौ र आफ्ना परम भक्तहरूको लागि निर्दिष्ट गर्यौ । तिम्रा र तिनका नाम लिएर म तिमीसित याचना गर्दछु, हे मेरा प्रभु कि यो वर्षको अवधिमा तिमी यस्तो आज्ञा गर जसद्वारा तिम्रा भक्तहरूको समुन्नति होस् । 

यो वर्षमा तिमी अझ यस्तो वरदान गर जसले गर्दा तिम्रो गौरवशाली क्षितिजमा तिम्रो शक्तिको दिवा नक्षत्र अझ दीप्तिमान भई चम्कियोस् र तिम्रो सार्वभौम प्रकाशद्वारा सारा संसार झलमल्ल होओस् । 

हे मेरा प्रभु ! तिम्रो धर्मलाई विजयी बनाऊ र तिम्रा शत्रुहरूलाई अपमानित पनि नगराऊ । यस्तो वरदान देऊ जसले गर्दा इहलोक र परलोक दुवैमा हाम्रो कल्याण निश्चित होओस् । तिमी नै सत्य हौ र सारा रहस्यहरूका ज्ञाता हौ । 

सदा क्षमाशील, सर्व–कृपालु तिमीबाहेक अन्य कुनै ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

